तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा फुटबल खेलको विकास गर्न एएफसी सि डिप्लोमा स्तरको प्रशिक्षक प्रशिक्षण सुरु 

पोखरा । पोखरा क्षेत्रको फुटबल खेलको विकास गर्न एएफसी सी लेबलको डिप्लोमा फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा आज देखि पोखरा रङ्गशालामा एक हप्ते उक्त प्रशिक्षण सुरु भएको एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले बताउनु भयो । 

गण्डकी प्रदेशका कास्की, बागलुङ, गोर्खा र मनाङ, त्यसै गरी डोल्पा, ललितपुर, काठमाडौँ, वीरगन्जबाट गरी २४ जना प्रशिक्षार्थीहरू रहेको उहाँले बताउनु भयो । पहिलो चरणको उक्त प्रशिक्षणमा दैनिक जसो ८ घण्टा प्रशिक्षण हुने भएको छ भने एक महिना पछि पुनः दोस्रो चरणमा प्रशिक्षण हुने भएको एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीले बताउनु भयो । 

नेपालमै एएफसी मान्यता प्राप्त फुटबल प्रशिक्षकमा हरि खड्का र सजिव सिंह रहनु भएको छ । उहाँहरूले नै पोखरामा सञ्चालन हुने उक्त प्रशिक्षण दिँदै हुनुहुन्छ । कार्यक्रम संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले एएफसीको नियम अनुसार फुटबल प्रशिक्षण हुने बताउनु भयो । पोखरा र यस क्षेत्रको फुटबल खेलको बिकास गर्न उक्त तालिमले धेरै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । नेपालको फुटबलको भविष्य कता लैजाने भन्ने प्रशिक्षकहरूको हातमा हुने उहाँको भनाई थियो । 

उक्त कार्यक्रमको बुधबार पोखरामा एक समारोहका बिच उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले फुटबल खेलको विकासमा उक्त तालिम अति फलदायी हुने दाबी गर्नु भयो । २२–२८ बर्ष खेल्ने खेलाडी व्यावसायिक हुन नसकेर बिदेसिनु पर्ने बाध्यता रहेको दाबी गर्दै उहाँले पोखरा क्षेत्रमा फुटबल प्रतियोगिता कम भएको गुनासो गर्नु भयो । पोखरामा हुने ५, ७ जना बिचको फुटबल हुनु राम्रो नभएको उहाँको भनाई थियो । खेलाडीको भविष्यमा टिकाउने गरी प्रदेशले केही नवीन कामको सुरुवात गर्न लागेको बताउँदै सदस्य सचिव शर्माले गण्डकी खेलकुद पदक, खेलाडी बिमा, खेलाडी अक्षयकोष स्थापना गर्ने लगायतका कार्यक्रम ल्याउन लागेको बताउनु भयो । प्रदेशमा करिब हालसम्म विभिन्न खेलका ५ सय रेफ्रि अध्यावधिक भएको उल्लेख गर्दै उहाँले बाँकी रेफ्रिहरुलाई अध्यावधिक गर्न आग्रह गर्नु भयो । 

जिल्ला खेलकुद बिकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाले उक्त तालिमले दक्ष प्रशिक्षक उत्पादन हुने, फुटबलमा उत्पादनको उर्वर भूमि पोखरा कास्की फुटबल खेलमा कम चासो गएको दाबी गर्नु भयो । अब कसरी राष्ट्रिय खेलाडीहरू समावेश गर्न सकिन्छ यसमा परिषद्, एन्फा, समितिले सोच्नु पर्ने, तल्लो तहबाट यस खेलकुदलाई समावेश गर्नुपर्ने उहाँको भनाई थियो । नेपालमा १ सय ६७ जना फुटबल खेलको सी लेबलको उत्तीर्ण प्रशिक्षकहरू रहेको बताइन्छ । उक्त प्रशिक्षण यस अघि विराटनगर, धरानमा समेत सम्पन्न भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button