तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र देवघाटका सरोकारवाला बीच अन्तर्क्रिया 

चितवन । रेडियो नेपाल र देवघाट क्षेत्रका सरोकारवालाबीच पर्यटन र स्थानीय विकास सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । रेडियो नेपाल केन्द्रिय प्रसारण  काठमाडौं आयोजनामा ‘स्थलगत बहसमा आधारित रेडियो कार्यक्रम’ सम्पन्न भएको हो । शनिबार देवघाट गाउँपालिकाको देवघाट क्षेत्र विकास समितिको सभाहलमा यो कार्यक्रम पहिलोपटक रेडियो नेपालले सुरु गरेको हो । 

कार्यक्रममा देवघाटको धार्मिक पर्यटन, पालिकामा भएका  विकास, समस्या तथा चुनौतीका विषयमा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बजेट अभावमा देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न समस्या भएको बताउनु भयो । ‘हाम्रो मुख्य नारानै यहाँको धार्मिक पर्यटन र कृषि प्रवर्द्धन हो उहाँले भन्नुभयो, केन्द्र र प्रदेशको न्यून बजेट र स्थानीय श्रोतको क्षमताले भनेजस्तो प्रगति गर्न सकेका छैनौँ ।’ देवघाट क्षेत्र ऐतिहासिक , धार्मिक , सांस्कृतिक महत्व रहेको बताउँदै बजेट अभावमा पर्यटकलाई सही व्यवस्थापन गर्न नसकिएको उहाँले बताउनु भयो । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटको पर्यटन प्रवर्द्धनमा थुप्रै योजना र पूर्वाधार निर्माणको आवश्यकता परेपनि केन्द्र सरकारले आवश्यक बजेट निकासा नगर्दा काम गर्न समस्या रहेको बताउनु भयो । ‘तीनवटा जिल्ला जोड्ने त्रिकोणात्मक पुलको गुरु योजना वर्षौँदेखि अलपत्र छ, बरालले भन्नुभयो, डिपीआर भइसक्दा पनि बजेट नहुँदा कामले गति लिन सकेन ।’ देवघाटमा बर्षेनी हजारौँ पर्यटक आएपनि यहाँ व्यवस्थापन गर्ने पूर्वाधार नहुँदा समस्या भएको उहाँको भनाई छ । 

पर्यटन विद् डाक्टर विश्व सुबेदीले पर्यटनको शुरुवात धार्मिक पर्यटनबाट सुरु भएपनि सबैभन्दा बढी ओझेलमा धार्मिक पर्यटन भएको औँल्याउनु भयो । ‘धार्मिक पर्यटनको देवघाटमा अथाह सम्भावना छ । यसलाई विभिन्न पर्यटकीय गतिविधि र अन्य पर्यटकीय गन्तव्यमा कनेक्टिभिटी गर्न सक्नुपर्छ । हामीले सही रुपमा यसलाई प्रचार प्रसार र प्रवर्द्धन गर्न पनि सकेका छैनौँ ।’ डा.सुबेदीले भन्नुभयो । 

देवघाटको महत्व, महिमाका बारेमा प्रचार प्रसार हुनसके भारत लगायत अन्य देशका हिन्दु धर्मावलम्बी समेत यहाँ आउने सुबेदीको भनाई थियो । कार्यक्रममा देवघाटमा सञ्चालित आश्रम, गुरुकुल ,  ,नीजि क्षेत्र, महिला सञ्जाल लगायतका पदाधिकारी तथा प्रतिनिधिहरूले सरकारले देवघाटको धार्मिक पर्यटनलाई प्राथमिकता राख्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रमको सहजीकरण स्थलगत बहसमा आधारित रेडियो कार्यक्रमका संयोजक हरि गिरीले गर्नुभएको थियो । रेडियो नेपालको प्राविधिकसहितको टोली स्थलगत बहसको कार्यक्रमको लागि देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत आज रत्ननगर नगरपालिकाको समन्वयमा सौराहामा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button