तपाईँ सुन्दै हुनुहुन्छः

‘अनुशासन र देश प्रेमको भावनाबाटै भावी पुस्ता सबल’

गण्डकी ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देश प्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिनुभएको छ ।

सैनिक आवासीय महाविद्यालय, पोखराको १९ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देश प्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताउनुभयो ।

शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उहाँले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताउनुभयो । शिक्षाको महत्व बिस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउँदै उहाँले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताउनुभयो । कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पताल आदि निर्माण भएको उहाँले बताउनुभयो ।

प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गर्नुभएको थियो । विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो ।

उक्त अवसरमा प्रधानसेनापति शर्माले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै महाविद्यालयको वार्षिक मुखपत्र फुलबारीको लोकार्पण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button