पोखरामा आठौँ पर्वतीय महोत्सवको तयारी
कास्की । नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ ।
आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण सङ्घले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौँ संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिनुभयो ।
यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसन सँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रुपमा रहनेछ । आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फर्स्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।
त्यस्तै, महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् ।
महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिनु भयो । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, आर्चरी , जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्