गुरुवागाउँकाे भेडा जुधाउने मेला : सय बढी भेडाहरू एकआपसमा जुधाइँदै

नेपालगन्ज । बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
नागा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जगतराम कुर्मीका अनुसार परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि निरन्तरता दिइरहेको छ । यसै संरक्षण समितिकै आयोजनामा गुरुवागाउँ मेला सञ्चालनमा आएको हो ।
“यो मन्दिर २ सय वर्ष अघिको हो, २ सय वर्षअघि यहाँ नागा बाबा हुनुहुन्थ्यो, बाबाकै नामबाट मन्दिरको नाम नागा बाबा मन्दिर नामकरण भएको हो,” अध्यक्ष कुर्मीले भन्नुभयो, “तबदेखि नै हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिनदेखि तीनसम्म लगातार मेला लाग्ने गरेको छ र मेलामा भेडा जुधाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ ।”
भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरू मेलामा आउने गरेको उहाँले बताउनुभयो । कुर्मीका अनुसार हरेक वर्ष सय बढी भेडाहरू एकआपसमा जुधाउने गरिन्छ । व्यावसायिक हिसाबले पाल्ने भेडा र जुधाउनकै लाग्ने पाल्ने भेडा भिन्दाभिन्दै हुने उहाँले बताउनुभयो । जुधाउनका लागि पालिने भेडालाई विशेष खानपानको व्यवस्था हुन्छ । जुधाउने भेडालाई किसानले वर्षभरि विशेष किसिमको तागतिलो खानेकुरा खुवाएर पाल्ने गरेको उहाँले बताउनुभयो ।
भेडा जुधाई केवल मनोरञ्जन र परम्परा जोगाउन मात्रै भएको संरक्षण समितिका अध्यक्ष कुर्मीले बताउनुभयो । “
कोहलपुर नगरपालिका वडा नं. १४ अकलघरुवाबाट भेडा जुधाउन पुग्नुभएका ६८ वर्षीय लच्छु अहिरले आफूले वर्षौँदेखि मेलामा भेडा जुधाउन ल्याउने गरेको बताउनुभयो । “भेडा जुधाएर केही मिल्दैन तर हाम्रो सयौँ वर्ष अघिदेखि चलिआएको चलनलाई जोगाउन र सोखको लागि मात्र ल्याएर जुधाउने गरिन्छ ।” उहाँले भन्नुभयो, “आफ्नो भेडाले जितेमा वर्षभरि गाउँमा नाम चल्छ ।”
मेलामा भेडा जुधाईबाहेक धार्मिक रामलिला नाटक मञ्चन, मनोरञ्जनात्मक कार्यक्रम नृत्य, भजन कीर्तन लगायतका कार्यक्रम हुने वडा नं. ५ का वडाध्यक्ष टिकानाथ यादवले जानकारी दिनुभयो । मेला हेर्न बाँके र बर्दियाका विभिन्न स्थानबाट मात्रै नभई सीमावर्ती भारतका समेत दर्शनार्थीहरु आउने उहाँले बताउनुभयो । तीन दिनमा हजारौँ दर्शनार्थी मेलामा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्