तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

कास्की । भिम सार्की र सन्तोष कार्कीको अर्ध शतकिय पारिमा पोखरा रङ्गशालामा जारी केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आर्मीले कोशी प्रदेश विरुद्धको खेल जितेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो । मङ्गलवारको खेलबाट जारी प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।

आर्मी समूह डि मा ४ अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो भने आर्मीसँगै समूह ए मा ४ अङ्क बटुलेको बागमती प्रदेश, समूह बि मा २ अङ्कका साथ एपिएफ क्लब र समूह सि मा २ अङ्कका साथ मधेश प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् । बिहिबार हुने सेमिफाइनलमा आर्मी र बागमती तथा दोस्रो खेल एपिएफ क्लब र मधेश प्रदेशबिच हुनेछ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलवार आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्ध शतकीय पारी खेले । सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किदा भीमले २४ बलमा ५३ रन बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए ।

बलिङतर्फ कोशी प्रदेशका श्रवण यादवले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कोशीका लागि कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८.२ ओभरमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिन सफल भए ।

भोली बुधबार एक मात्र खेल मदन भण्डारी स्पोर्टस एकेडेमी निलो र कोशी प्रदेशबिच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button