तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप : सुदूर पश्चिमविरुद्ध मधेश प्रदेशको सानदार जित

कास्की । केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदूर पश्चिम प्रदेशमाथि ८ विकेटको सानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगितामा सुदूर पश्चिमले दिएको ५८ रनको लक्ष्य मधेशले २ विकेट गुमाएर ९२ बल बाँकी रहँदै पुरा गर्‍यो ।

टस जितेको सुदूर पश्चिमले १५.५ ओभरमा ५८ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फर्किँदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको सामना गर्दै एक रनमा पेभिलियन फर्किए । बसन्त कार्की ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिँदा भोजराज भाट भने १० रन बनाए ।

मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए भने अनिल साहले १ विकेट लिए ।

यता मधेश प्रदेश २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । तिन बल फेस गरेका हरिशंकर साहलाई गजेन्द्र बोहराको बलमा शून्यमै आउट गरेपछि मधेश दबाबमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाए । उनी पनि बोहराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गरे । दुवै नटआउट रहे । हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button