अब कुनै पनि हालतमा राजतन्त्र आउँदैन : सभापति देउवा

नवलपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अब कुनैपनि हालतमा राजतन्त्र नआउने बताउनु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा आज आयोजना भएको नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलामा सम्बोधन गर्दै सभापति देउवाले कोही कसैले भन्दैमा राजतन्त्र नआउने बताउनुभएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेकोले अब राजतन्त्र नफर्किने बताउनुभयो । ‘अब कुनैपनि हालतमा राजतन्त्र आउनेवाला छैन , कसैले भन्दैमा राजतन्त्र आउने होइन’ सभापति देउवाले भन्नुभयो । ‘पूर्व राजा राजाको रुपमा फर्किने कुरा सम्भव छैन, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेको छ । ’
कार्यक्रममा बोल्दै सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिएपनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै काङ्ग्रेस महामन्त्री गगन थापाले राजतन्त्रको बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताउनुभयो । जिल्ला सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्