तपाईँ सुन्दै हुनुहुन्छः

समितिका काम कारबाही प्रभावकारी रुपमा अगाडी बढाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले समितिका काम कारबाही प्रभावकारी रुपमा अगाडी बढाउन समितिका सभापतिहरूलाई निर्देशन दिनुभएको छ ।

सभामुख घिमिरे र समितिका सभापतिहरूको आज सिंहदरबारमा बसेको बैठकमा सभामुख घिमिरेले समितिमा विचाराधीन रहेका विधेयकहरूलाई कार्ययोजना बनाएर अगाडी बढ्न सभापतिहरूलाई निर्देशन दिनुभयो ।

सभामुख घिमिरेले आगामी पूर्ण बैठकमा विधेयकलाई प्रतिवेदनसहित पेश गर्ने गरी जिम्मेवार भएर लाग्न निर्देशन समेत दिनुभयो ।

समितिका बैठकमा कोरम नपुग्ने समस्याप्रति समितिका सभापति स्वयं जिम्मेवार हुनुपर्ने भन्दै सभामुख घिमिरेले दलका सचेतकहरू मार्फत सांसदहरूलाई उत्तरदायी बनाउने विषयमा ध्यानाकर्षण गराउने बताउनुभयो ।

समितिका निर्देशनहरूलाई प्रभावकारी बनाउने तथा भएका निर्देशन र निर्णयहरूलाई कार्यान्वयन गराउने विषयमा भूमिका खेल्न सभापतिहरूलाई सभामुख घिमिरेले आग्रह गर्नुभयो ।

बैठकमा समितिका सभापतिहरूले समितिको बैठकमा कोरम नपुग्ने समस्याका कारण बैठक बस्न समस्या भइरहेको, कार्यक्षेत्रको दोहोरोपना र एउटै उजुरी धेरै समितिमा पर्ने गरेका कारण समस्या भइरहेको, निर्देशनहरूको कार्यान्वयनको अवस्था, आर्थिक अभावका कारण समितिले गर्ने अनुगमन र निरीक्षणहरू प्रभावित भइरहेको लगायतका विषय उठाउनुभएको थियो ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । विषयगत समितिका सभापति चयन पश्चात् सभामुख र सभापतिहरूको यो दोस्रो बैठक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button