तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम स्तूपमा बौद्ध विहारका पर्खाल र प्राचीन पोखरीको संरचना फेला परे

नवलपरासी,पश्चिम् । गौतम बुद्धको आठौँ अस्तुधातु मध्ये एक अस्तुधातु रहेको पश्चिम् नवलपरासीको रामग्राम स्तूप उत्खननका क्रममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना फेला परेका छन् । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञ तथा प्रतिनिधिहरुको संयुक्त टोलीले उत्खननको उपलब्धिका बारेमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

रामग्राम स्तूपको उत्तर पश्चिमपट्टि गरिएको उत्खननबाट प्राचीन विहारका भग्नावशेष र पोखरी भेटिएको हो ।

पत्रकार सम्मेलनमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्राममा स्तूपमा सरकारले प्राथमिकताका साथ उत्खनन र प्रचारप्रसार नगर्दा स्तूप ओझेलमा परेको बताउनु भयो ।सरकारले,विश्वविद्यालयले चासो नदिँदा जिल्लाको मात्रै नभएर सिङ्गो राष्ट्रकै परिचय बोक्ने स्तूप आज संरक्षण र प्रवर्द्धनको अभावमा देशभित्रै गुमनाम हुनेहोकि भन्ने चिन्ता बढेको बताउनु भयो ।”पटक पटक मैले सम्बन्धित निकायलाई घचघच्याए न आफूहरूले काम गर्नु हुन्छ न हामीलाई गर्न दिनुहुन्छ,सक्नु हुन्न भने स्थानीय तहलाई जिम्मा दिनुस्”यादवले भन्नुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले रामग्राम स्तूपमा गरिएको भौगर्भिक सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताउनु भयो । विहारका भग्नावशेष पर्खाल,पोखरी फेला परेकाले रामग्राम स्तूपको पुरातात्त्विक र ऐतिहासिक महत्त्व थप उजागर भएको बताउँदै उहाँले लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासलाई निरन्तरता दिनेखालको गुरुयोजना तयार गरिरहेको उल्लेख गर्नु भयो ।

पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेका थिए ।

पुरातत्त्व विभागका प्रवक्ता एवम् वरिष्ठ पुरातत्वविद रामबहादुर कुँवरले १९९७ मा वैज्ञानिक अनुसन्धान सुरु गरिएको बताउँदै उत्खनन् र खोजी कार्यको समय सीमा नहुने उल्लेख गर्नु भयो । रामग्राम स्तूपको बारेमा हजार मिटरभन्दा बाहिरीको क्षेत्रमा र पण्डितपुरमा २२ बिघा क्षेत्रफल भित्र रहेर पनि अनुसन्धान गर्नुपर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button