अन्तर्राष्ट्रिय क्रस कन्ट्रीको उपाधि नेपाली टोलीलाई
पोखरा । पोखरामा शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली टोलीले उपाधि जितेको छ ।
४० किलोमिटरको दुरीमा १७ किलोमिटर दौड, २२ किलोमिटर साइक्लिङ र एक किलोमिटर डुङा रेसमा पहिलो हुँदै नेपाली टोलीले उपाधि सहित ३ लाख ६० हजार पुरस्कार हात पारेको हो ।

नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएको प्रतियोगिताका खेलाडी दर्ता विभाग एवं पुरस्कार वितरण संयोजक गोकर्ण कार्कीले बताउनुभयो ।
प्रतियोगितामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भयो । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्यो । चिनियाँ टोलीले प्राप्त गर्यो ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूतावासको संयुक्त आयोजनामा शनिबार पोखरामा दोस्रो पटक आयोजना भएको उक्त प्रतियोगिता अन्तर्गत एकल तर्फको ३८ किलोमिटर दौडमा नेपाली धावक होमलाल श्रीस प्रथम हुनुभयो ।
त्यस्तै वेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो हुनुभएको छ । उहाँहरू सबै नेपाली सेनाका धावकहरू हुनुहुन्छ ।
क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपाली ११ टिम र पाहुना टोली चिनिया ३ टोलीले प्रतिस्पर्धा गर्नुभएको थियो । एकल प्रतिस्पर्धामा ३६ जना चिनिया सहित ७६ जनाले सहभागिता जनाउनुभएको थियो ।
टिम इभेन्टमा दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुने टोलीले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरे ।
व्यक्तिगत प्रतिस्पर्धाको विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरू लक्षित सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुनुभयो । उहाँहरूले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्नु भयो ।
दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरूले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । छात्रछात्रा दौडमा भने ४ सय २४ जना सहभागी भएको कार्कीले जनाउनुभयो ।
प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, नेपालका लागि चिनियाँ राजदूत छनसङ्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्