तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न ६ जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय नीरज भट्ट, धनगढी उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय इन्द्र बराल (सुनार), ४३ वर्षीय खगेन्द्र बहादुर सोव र धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय दीपेन्द्र सिजापति रहेका छन् । 

उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र नीरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यु बर्दादेवी सुनचाँदी पसलका सञ्चालक इन्द्र बराल (सुनार), न्यु दिया सुनचाँदी पसलका सञ्चालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका सञ्चालक दीपेन्द्र सिजापतिले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ ।

नारुदेवी जोशी कात्तिक १९ गते दिउँसो घाँस काट्न भनी आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा घरमा फर्केर नआएपछि खोजी गर्ने क्रममा कात्तिक २० गते उक्त वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा महेश डगौरालाई झलारी बजारबाट मङ्सिर १ गते प्रहरीले पक्राउ गरेको थियो । 

महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनी हँसिया मागी सो हँसिया केही टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटी कसी हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा र नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button