तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानका लागि सरकारले पठायाे १५ करोड अनुदान

नवलपरासी-पश्चिम् । सरकारले नवलपरासीका उखु किसानहरूको अनुदानबापतको बाँकी रहेको रु १५ करोड १२ लाख १५ हजार ५५८ रकम पठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा उक्त रकम पठाइएको कोलेनिकाले जनाएको छ । 

अनुदान बापतको कुल १५ करोड ७३ लाख रकम रहेपनी सरकारले हाल उक्त रकम पठाएको हो। ६१ लाख ७ हजार ४२२ रुपैयाँ अझै पठाउन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिनुभयो ।

सरकारले उखु उत्पादक किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरे अनुरुप सो रकम कोलेनिकाको खातामा दाखिला भएको हो। उक्त रकम आर्थिक बर्ष २०७९/०८० मा चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानहरूलाई वितरण गरिने छ। जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोलेनिकामा पठाई सकेका छन् ।

चिनी उद्योगले कोलेनिकामा पठाएको विवरणअनुसार गत आ.व.मा चार वटा चिनी मिलले कुल २२ लाख ४७ हजार ४७९ क्विन्टल उखु क्रसिङ्ग गरेका छन् । उक्त आ.व.मा बागमती चिनी उद्योग कुडियाले १० लाख ८० हजार ८४५ क्विन्टल, इन्दिरा चिनी उद्योग प्रतापपुरले ७ लाख २२ हजार ९०२ क्विन्टल, लुम्बिनी चिनी उद्योग सुनवलले ३ लाख ५६ हजार ४७४ र तत्त्व फर्म प्रा.लि. प्रतापपुरले ८७ हजार २५६ क्विन्टल उखु क्रसिङ्ग गरेको विवरण बुझाएको लेखापाल पौडेलले जानकारी दिनुभयो।

 गत वर्ष सरकारले उखुको प्रति क्विन्टल ६१० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रतिक्विन्टल ५४० र ढुवानी भाडाबापतको प्रति क्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

समयमा नै उखुको भुक्तानी नपाउँदा नवलपरासीका उखु उत्पादक किसान निकै मर्कामा पर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button