राप्ती नदीमा छोडियो बीस हजार भुरा

बाँके । नदीमा माछाको संख्या बढाएर जैविक विविधताको संरक्षण गर्न भन्दै बाँकेको राप्ति नदीमा २० हजार माछाका भुरा छोडिएको छ ।
विश्व मत्स्य दिवसको अवसरमा मंगलबार बाँकेको राप्ती नदीमा बिस हजार माछाका भुरा छोडिएको हो । दिवसका अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी ८ ओभरीले एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका वडा न २ स्थित राप्ती नदीमा रहु र नैनी जातको करिब २० हजार माछाका भुरा छोडिएको केन्द्रका निमित्त कार्यालय प्रमुख महेन्द्र प्रसाद यादवले बताउनुभयो ।
”जलीय जैविक विविधता संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौँ” भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै यादवले माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेको अवस्थामा जलीय सम्पदाको संरक्षणको लागि माछाका भुरा नदीमा छोडिएको बताउँदै माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता प्राकृतिक जलाशयमा भएका माछा सकिँदै जाने हुँदा माछाको संरक्षण गर्नुपर्ने र नेपालमा ८ वर्षदेखि मत्स्य दिवस मनाइँदै आएको बताउनुभयो । जलासयमा माछाको संख्या बढाएर वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यकासाथ हरेक वर्ष माछा छोड्न गरिएको यादवको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राप्ती सोनारी गाउँपालिका वडा नं। ८ का वडाध्यक्ष सालिकराम डाँगीले करेन्ट र विष प्रयोग गरेर माछा मार्नेको संख्या बढिरहेको हुँदा यस्ता कार्यहरू रोक्न आवश्यक रहेको बताउँदै उहाँले जैविक विविधता संरक्षण गर्ने सबैको चासो र चिन्ता हुनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले जनताहरू जलचरमा अश्रीत भएको हुँदा ती जलचरहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले सिफारिस गरेको ८ प्रकारका माछा बाहेक अन्य जातका माछाहरू रोकथामका लागी प्रहरी प्रशासनको ध्यान जानुपर्ने र सिफारिसका माछाहरू मात्र पालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै बर्दियाका किसान कृपाराम चौधरीले २०४६ देखि ८ बिगाहा पोखरी निमार्ण गरी हालसम्म माछा पालन गर्दै आएको र अरूलाई माछा पाल्ने प्रेरणा दिएको बताउनुभयो । उहाँले माछा सेवनले स्वास्थ्य राम्रो हुने हुँदा सबैलाई माछा पालन गर्न सुझाव दिनुभयो। उहाँले किसानहरूलाई माछाका भुरा सहज रुपमा उपलब्ध गराइदिन अनुरोध समेत गर्नुभयो । सो अवसरमा नियमित रुपमा माछा मार्ने छविलाल घर्ती ,राम बहादुर थारुलाई जाल हस्तान्तरण गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्