छठका कारणले फोहर बनेका घाटहरूमा बृहत् सरसफाई

जनकपुरधाम । जनकपुरधाममा साप्ताहिक रुपमा हुँदै आएको बृहत् सरसफाई अन्तर्गत जनकपुरधामको छठका कारणले फोहर बनेको छत घाटहरूमा विशेष सरसफाई आज गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइ तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा भएको सरसफाई कार्यक्रम अन्तर्गत जनकपुरधामको प्रसिद्ध गंगासार, धनुषसागर र जानकी मन्दिर क्षेत्रमा सफाई गरिएको छ ।
जनकपुरधामको गंगासागरमा ३ हजार भन्दा बढी व्रतीहरूले छठ गरेका कारणले धेरै भिड रहेको लागेको मेलामा फालिएका फोहर तथा छठका सामाग्रीहरूका कारणले बढी नै फोहर भएकाले आज बृहत् सरसफाई गरेपछि गंगासागर सफा देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाईमा नगरपालिकाबाट उल्लेख्य सङ्ख्याका सफाइकर्मीहरू, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको अगुवाईमा प्रहरीहरू, सशस्त्र प्रहरीहरू तथा नेपाली सेनाका जवानहरूको सहभागिता रहेका थिए ।
बृहत् सरसफाईमा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं प्रदेश सभाका सदस्य रामअशिष यादव सहितका विभिन्न सामाजिक संघ संस्थाहरूको प्रतिनिधिहरू सहभागिता रहेका थिए । सफाई पछि गंगासागर पोखरी पहिला भन्दा पनि बढी सफा देखिएको छ ।

धनुषसागरको पनि सफाई गरिएपनि थप सफाइका लागि अर्को साता रब्बर बोर्टको प्रयोग गरेर पुग्न नसक्ने भागहरूको पनि सफाई गरिने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो ।
छठ पर्वका दिन जानकी मन्दिर क्षेत्रमा पनि भारी सङ्ख्यामा सफाईकर्मीहरु परिचालन गरेर सफाई गरिएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्