तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५६ प्रतियोगीहरू सहभागी हुने

पोखरा । पोखरामा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ५६ जना प्रतियोगीहरू सहभागी हुने भएका छन् । 

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यही मङ्सिर ७ देखि ९ गतेसम्म पोखरा १३ को आर्बा–विजय डाँडामा हुने उक्त प्रतियोगितामा नेपाल सहित ११ देशका ५ जना महिला सहित ५६ जना प्रतियोगीहरूले नाम दर्ता गराएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनु भयो ।

तीन दिन चल्ने प्रतियोगितामा ८८ जनाले सुरुवाती दर्ता गरे पनि अन्तिम समयमा ५६ जनाले मात्र प्रतियोगितामा सहभागी जनाउने भएको उहाँले बताउनु भयो । अर्को ठाउँमा प्रतियोगिताको मिति एके समयमा जुधेको कारण केही खेलाडीले सुरुवाती दर्ता गरेपनि सहभागी हुन नसक्ने जनाएको आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुने भएको हो । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको रेस डाइरेक्टर शर्माको दाबी छ । इलिट पुरुषतर्फ को विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ भने महिला तर्फ सोही इभेन्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगितालाई भने १५ हजार प्रदान गरिने भएको छ ।

खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताउनु भयो । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने गुरुङको भनाई छ । आगामी बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिने उहाँले जनाउनु भयो ।

तीन दिन हुने प्रतियोगितामा मङ्सिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–विजय डाँडामा हुने तयारी गरिएको छ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरूमा विश्वभर ठुलो सङ्ख्यामा माउन्टेन बाइकिङ प्रेमीहरू आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button