तपाईँ सुन्दै हुनुहुन्छः

बारामा मेला लगाउने विषयमा विवादपछि झडप , झडप नियन्त्रण गर्न आठ राउन्ड गोली फायर

बारा  । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको छ । 

झडपलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली फायर गरेको छ । बेनौलीमा झण्डा मेला लगाउने विषयमा सोमबार राती गाउँका दुई पक्ष बीच विवाद भएको थियो । 

विवादले उग्ररुप लिएपछि  ढुंगामुढा हानाहान तथा झडपसमेत  भएको  थियो । झडपलाई सामान्य बनाउन गएराती करिब  ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरी भीडलाई तितरबितर बनाइए पनि ११ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेको  बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

अहिले  स्थिति सामान्य रहेको उहाँले बताउनुभयो । झडपमा ढुङ्गा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button