तपाईँ सुन्दै हुनुहुन्छः

मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ ।

मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री शर्माले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।

कसैले राजनीतिको माध्यमबाट र कसैले अन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्धार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले सर्वोत्तम सेवा भएको मन्त्री शर्माको भनाई थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस् भनेर सरकार लागिरहेको उल्लेख गर्दै उहाँले जनस्तरबाट सञ्चालित संस्थाहरूबाट मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताउनुभयो ।

मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । पछिल्लो समय जन्मदिन, विवाह, बुवा आमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्दै उहाँले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताउनुभयो ।

मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्दै उहाँले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button