तपाईँ सुन्दै हुनुहुन्छः

बिक्न छाडे माटाको भाँडा,सङ्कटमा कसगर समुदायको पेशा( फोटोफिचर)

बाँके । अन्य समयमा माटोको भाँडाको बिक्री कम भए पनि दसैँ, तिहार र छठ जस्तो चाडपर्वमा बढी बिक्री हुने र त्यसबाट जीविकोपार्जन गर्न केही सहज हुने आशामा रहेका बाँकेको नेपालगन्जका अधिकांश कसगर समुदायका व्यक्ति यसपटक भनेजस्तो व्यापार नहुँदा निकै चिन्तित देखिएका छन् ।


चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसे पनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको हो ।अहिलेको आधुनिक युगमा तिहारमा प्रयोग हुने विद्युतीय झिलिमिलीले आफ्नो व्यवसाय निरन्तर ओरालो लाग्दै गएको नेपालगन्ज ५ कि सालिया बेगम कसगरको गुनासो छ ।

उहाँले दीपावली र तिहारमा धेरै बिक्री होला भनेर महिनौँ मिहिनेत गरेर बनाएका माटोका भाँडाहरू सोचेजस्तो बिक्री नभएकाले कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो ।

आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोको भाडाको बिक्रीमा कमी आउँदा वर्षौँदेखि माटोको भाँडा बिक्रीबाट जीवन धान्दै आएका कसगरहरुको पेशा नै सङ्कटमा परेको सालिया बेगम कसगरको दुःखेसो छ ।
‘वर्षमा एक पटक त निकै राम्रो गरेर बिक्री होला भनेर आफूसँग भएको अलिअलि लगानी लगाएर ठूलो परिमाणमा दियो लगायत अन्य भाडाहरू बनाउँछौ, तर सोचे जस्तो बिक्री नहुँदा मन निकै दुखेर आउँछ ।’, उहाँले भन्नुभयो ।

नेपालगन्ज–८ का पप्पु कसगरले आफूहरूले माटोको दियो, गाग्रो, पाला, जाँतो, नदिया, सिँगार दान, चुलोसमेत बनाई आम्दानी गर्दै आएकोमा अहिले रेडिमेड झिलिमिली बत्ती, बल्ब, भाँडाहरूका कारण आफूहरूको पेसा नै सङ्कटमा परेको बताउनुभयो ।
उहाँले पेसा नै सङ्कटमा पर्न थालेपछि अब परिवार पाल्न, निकै समस्या हुने देखिएकोले के गर्ने भन्ने चिन्ता बढ्दै गएको बताउनुभयो ।

विगतका दिनमा निक्कै व्यापार हुने गरेकोमा अहिले बजारमा आएका तयारी प्लास्टिकका भाँडाकुँडामा ग्राहकको आकर्षण बढ्दै जाँदा आफ्नो व्यापार दिन प्रतिदिन कम कम हुँदै गएको रमजानको भनाई छ ।

उहाँले खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्रीहरु पाला र गाग्रीलगायतका सामग्री प्रयोग गर्ने परम्परा रहेकोमा पछिल्लो समय बिजुली बत्ती तथा प्लाष्टिक, स्टिलका भाँडा कुडाले गर्दा पेसा नै सङ्कटमा परेको बताउनुभयो ।

स्थानीय सरुजिद्दिन कसगरको गुनासो पनि रमजानको जस्तै छ । स्थानीय र केन्द्र सरकारले कसगर जातीहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुर्ख्यौली पेसाको संरक्षण गर्ने नीति ल्याउनुपर्ने उहाँको माग छ ।

बाँकेको नेपालगन्जमा सय बढी घर कसगर समुदायका व्यक्ति माटोको भाडा बनाउने पेशा गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

उनीहरूले बनाएका माटाका सामाग्री स्थानीय बजारमा साथै कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लामा समेत जाने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button