खेल सामग्री हस्तान्तरण
काठमाडौँ । कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरूप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिएको छ ।
कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्का लगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री खरिद गर्न श्रेष्ठ दाजुभाइसहित अस्ट्रेलियाका सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गर्नुभएको बताइएको छ । उहाँहरू सबै तेक्वान्दो खेलाडी हुनुहुन्छ । मुख्य प्रशिक्षक नवीनकुमार अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् ।
निर्मल र नीराजनले पाकिस्तानमा भएको नवौँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । दुवै विगत १८ वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ ।
कार्यक्रममा नीराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउँदा खुसी लागेको जनाउँदै खेलाडीको समस्यामा हरदम सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्