भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौँ । सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
भूकम्पबाट प्रभावित परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसका आधारमा लाभग्राहीले अस्थायी आवास निर्माणबापत पाउने रकम खाताबाटै प्राप्त गर्न सक्नेछन् ।
मन्त्रिपरिषद् बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ रकममा १ अर्ब ७५ करोड समेत थप गरी विपद् व्यवस्थापन कोषमार्फत भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय समेत गरेको छ ।
बैठकले नेपालको भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा व्यक्तिको व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मुख्य सचिवलाई जिम्मेवारी दिएको छ ।
कात्तिक १७ गतेको मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, छिमेकी जिल्ला रुकुम पश्चिम र सल्यानका बस्तीहरूमा पनि क्षति पुगेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि सरकारी कागजातमा नेपाल सम्वत्समेत उल्लेख गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्