तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा किवीको व्यावसायिक खेती शुरु 

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं. २ मा किवीको व्यावसायिक खेती शुरु गरिएको छ ।  यहाँका स्थानीयले केही वर्षअघिसम्म परम्परागत खेतीसँगै व्यावसायिक तरकारी खेती गर्दै आएपनि पछिल्ला केही वर्षदेखि उनीहरू  किवी खेतीतर्फ आकर्षित भएका हुन् । यो क्षेत्र धादिङको सिमाना नजिक पर्छ ।

स्थानीय धनबहादुर गुरुङले साथीमार्फत रसुवाबाट किवीको बिरुवा लगाएपछि यो गाउँमा किवी खेतीले प्रवेश पाएको हो ।  उहाँकै पहलमा दुई परिवारले करिब ३० कठ्ठा क्षेत्रफलमा किवी खेती गर्नुभएको छ । त्यसमध्ये धनबहादुरको मात्रै करिब २८ कठ्ठा क्षेत्रफलमा किवी खेती छ। तरकारी खेतीबाट पनि राम्रै आम्दानी गर्दै आउनु भएका  धनबहादुरले तीन वर्षदेखि यही किवीलाई आफ्नो व्यावसायिक खेतीको रुपमा अँगाल्न थाल्नु भएको बताउनुभयो ।

सुरुमा ४५० वटा बिरुवा ल्याएर लगाउँदा केही बिरुवा मर्‍यो । ‘आफूले पनि थाहा नपाएको खेतीमा लाग्दा अनुभव हुने कुरै भएन । त्यसैले केही बिरुवालाई बचाउन सकिएन,’ उहाँले भन्नुभयो, ‘तर, करिब ३०० भन्दा बढी बिरुवाले फल दिएको होला ।’ यतिखेर किवीको उत्पादन निख्रिन लागेको छ । साउनदेखि फल्न सुरु गर्ने किवी असोज लागेदेखि बिक्री गर्दा हालसम्म करिब दुई क्विन्टलको हाराहारीमा बिक्री भएको उहाँले  बताउनु भयो । यो गाउँमा पहिले पहिले सुन्तलाको पनि राम्रो उत्पादन हुन्थ्यो ।

सुन्तलाले दिएको प्रतिफललाई आधार मान्दा किवीले पनि राम्रै आम्दानी दिनेमा उनी आशावादी छन् ।

‘किवी खेतीको विषयमा हामीलाई अनुभव नै छैन । तर, वर्षमा एक पटकमात्रै फल्ने किवीबाट पनि मूल्य पाएमा राम्रै हुन्छ भन्ने सोचेको छु,’ उहाँले भन्नुभयो । तरकारी खेतीमा सिँचाइको सुविधा नभएकोले जुनसुकै मौसममा उत्पादन गर्न नसकिने हुँदा वैकल्पिक खेतीपातीमा लागेको उहाँको भनाइ छ ।

एकपटक लगाएको बिरुवाले कम्तीमा पनि ४० देखि ५० वर्षसम्म निरन्तर उत्पादन दिने उहाँले जानकारी पाएको  बताउनु भयो ।

धनबहादुरले ल्याएको बिरुवामध्ये ७० वटा बिरुवा उनका भाइ (काकाको छोरा) अम्मरबहादुर गुरुङले पनि लगाउनु भएको छ । यी  बिरुवाले पनि उत्पादन राम्रो दिन थालेको गुरुङले बताउनु भयो । ‘नयाँ फल भएकोले पहिलो चरणमा फलेको सबै गाउँलेलाई चखाइयो। अहिले दोस्रो चरणको फल बिक्री गरिरहेको छु। यो पनि अब सकिन लाग्यो ।’ उहाँले भन्नुभयो । 

हावापानीको हिसाबले पनि यो ठाउँ किवी खेतीको लागि उपयुक्त भूगोल भएको उहाँको अनुभव छ । अहिले भने बारीबाटै ३५० देखि ४०० रुपैयाँ किलोको दरमा बिक्री भइरहेको छ । ‘बाटोमा हिँड्ने पनि कतिपयले यो फल नै चिन्दैनन्। चिन्ने जतिले लैजान्छन्,’ उहाँले भन्नुभयो , ‘त्यसैले गाउँका मान्छेले मात्रै होइन, बजारका मान्छेको लागि पनि यो फल नयाँ नै रहेछ ।’

किवीको उत्पादनसँगै बजार राम्रो पाए थप क्षेत्रफलमा किवी लगाउने योजना रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button