तपाईँ सुन्दै हुनुहुन्छः

रुख नहटाउँदा मदन मार्ग निर्माणमा समस्या 

झापा । नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा बन क्षेत्रको रुखले समस्या ल्याएको छ । झापाको मेचीनगर देखि सुनसरीको धरान सम्म १ सय २८ किलो मिटर क्षेत्रमा २४ किलो मिटर क्षेत्रमा पर्ने झण्डै ८ हजार हाराहारीको रुख हटाउने कार्यले पूर्णता नपाउँदा सडक निर्माणमा समस्या आएको हो । 

राष्ट्रिय गौरवको योजना मदन भण्डारी मार्गको कोशी प्रदेश क्षेत्रमा सडक निर्माणमा अघिल्लो बर्ष नै रुख हटाउने गरी काम थालिएको थियो । तर संशोधित बन नियमावली २०७९ ले रुखको परिभाषा परिवर्तन गरे पछि रुख हटाउने कार्यमा समस्या आएको मदन भण्डारी राजमार्ग आयोजनाका इन्जिनियर सूर्यनारायण मण्डलले बताउनुभयो ।

यस्तै रुख नहटाइएको कारण कालोपत्रे गर्ने कार्यमा अवरोध आएको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन इन्जिनियर प्रल्लाद ढुङ्गानाले बताउनुभयो । 

कोशी प्रदेशमा अहिलेसम्म ९५ किलो मिटर क्षेत्रमा ४ वटा प्याकेजमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । १० अर्बको दायित्व रहेको राजमार्गमा हालसम्म झण्डै ६ अर्ब रुपियाँ बजेट खर्च भइसकेको मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button