तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्रीद्वारा नगर अस्पताल शिलान्यास

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौबिसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गर्नुभएको छ ।

नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्य कर्मचारीको अभाव अन्त्य गरिने बताउनुभयो ।

नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भएको भवनबाट एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गर्नुभयो । उहाँले उपलब्ध बजेट रु २३ करोड भएको भए पनि रु २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताउनुभएको थियो ।

मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थ्य चौकी भवन उद्घाटन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button