तपाईँ सुन्दै हुनुहुन्छः

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ । नगरपालिकाको कूल जनसङ्ख्याको करिब २० प्रतिशत नेवारी समुदायको रहेकाले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न उनीहरूले माग गरेका हुन् ।

नगरपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । तर त्यसमा नेवारी कला र संस्कृति समावेश नगरिएको नेवा: पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले बताउनुभयो ।

नेवारी संस्कृतिबारे ज्ञान नयाँ पुस्ताले विद्यालय तहबाटै थाहा पाउन जरुरी भएकाले स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने नेवा: पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ । नेवार समुदायले मुख्यगरी नेपाल संवत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, योमरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रा लगायत मनाउने गरेका छन् ।

गैँडाकोटका नेवार समुदाय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेका छन् । यही कात्तिक २८ गते यस समुदायले गैँडाकोटमा नेपाल संवत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछ । गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर र्‍यालीसहित अमरापुरी पुगेर नेपाल संवत्को कार्यक्रम तथा सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उहाँले आत्मा शुद्ध भएपछि मात्रै सबै कुरा शुद्ध र राम्रो हुने बताउनुभयो । महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्री आवश्यक पर्छ।

महः पूजामा महिलाको प्रमुख भूमिका हुन्छ । नेवा: मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट–२ की महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । स्थानीय तहले कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकाको कुल जनसङ्ख्या ५८ हजार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button