ब्वाँसोको आक्रमणबाट २० जना घाइते
दाङ । दाङको उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा जङ्गली ब्वाँसोको आक्रमणबाट करिब २० जना घाइते भएका छन्
गाउँ नजिकै रहेको सामुदायिक वन क्षेत्रबाट आएको एउटा जङ्गली ब्वाँसोले आक्रमण गर्दा महिला, बालबालिका तथा घरमा काम गरिरहेका पुरुष घाइते भएका हुन् । हिजो र आज बिहान गरी स्थानीयलाई पटक पटक आक्रमण गरी ब्वाँसोले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिनु भयो।
मल्लका अनुसार वन कार्यालयलाई जानकारी गराई उक्त ब्वाँसोको खोजी कार्य भइरहेको बताउनु भयो ।
मल्लले भन्नू भयो हामीले घाइतेका छोरो जुद्ध केसीले दिएको खबर अनुसार हिजो बिहीबार बेलुकी करिब ६ बजेतिर जङ्गलबाट आएको ब्वाँसोले बसन्तापुरकी ६३ वर्षीया दुर्गाकुमारी केसीलाई घरको आँगनमा खाना पकाई रहेको बेला एक्कासी आएर आक्रमण गरेको बताउनु भयो ।
ब्वाँसोले दुर्गाकुमारीलाई घुँडादेखि माथि आक्रमण गरी घाइते बनाएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर लगिएको थियो ।
लगत्तै सोही ठाउँका १० वर्षीय निशान चौधरीलाई उक्त ब्वाँसोले आक्रमण गरेको स्थानीयले जनाएका छन् । निशानलाई शरीरका विभिन्न स्थानमा आक्रमण गरेको हुँदा जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।
स्थानीयका अनुसार खैरो रङ्गको उक्त ब्वाँसोले बिहीबार बेलुकी गाउँका धेरै जनालाई आक्रमणको प्रयास गरेको र केहीलाई घाइते बनाएको छ ।
घटनाका कारण धर्नाको सिङ्गो गाउँ त्रसित बनेको छ । आज बिहान करिब ४ बजे गाईभैसीलाई दाना पकाउन उठेको व्यक्तिलाई पनि आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्