तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री खड्का राहत सामग्री लिएर जाजरकोटमा

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।

भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो ।

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा हुनुहुन्थ्यो ।

गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिनुभएको छ । भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितको उद्धार र राहतमा खटिनुभएको छ ।

राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उहाँ सोही स्थानमै रहनुहुने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

रक्षामन्त्री समेत रहनुभएका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिनुभएको छ ।

‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफैँ पनि घाइतेको उद्धारदेखि उनीहरूको उपचार र राहित वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button