सुस्ता अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

नवलपरासी । पश्चिम् नवलपरासीको सुस्तामा निर्माण हुने भनिएको १५ शय्या अस्पताल निर्माणको काम अलपत्र पार्ने तिन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरिएको थियो ।
सुस्ता गाउँपालिकाले अस्पताल निर्माण अलपत्र पार्ने तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले तिनवटै कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।अस्पताल निर्माणका लागि २०७८ असार ७ गते ४ करोड ९ लाख २७ हजार लागतमा समीर, काश्यप र प्रकृति जेभी तीन वटा निर्माण कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी ठेक्का सम्झौता गरेका थिए ।

खरिद अनुगमन कार्यालयले कार्तिक २२ (आज दोस्रो पटक) गते सूचना जारी गर्दै ७ दिन भित्र कालोसूचीमा राख्नु नपर्ने कारण सहित लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। तीन दिन अघि मात्र (कार्तिक १९ गते) ठेकेदार कम्पनीले आफ्नो बचाउमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको रिट अदालतले खारेज गरिदिएको सुस्ता गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ कालोसूचीमा राख्न नपर्ने कारण पेश गर्न तिन वटै कम्पनीलाई सूचना जारी गरेको हो । पटक पटक ताकेता गर्दा समेत काम नगरेपछि कालोसूचीका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।
सुस्ता नवलपरासी पश्चिमको विकट क्षेत्र मानिन्छ । यहाँका नागरिकले सामान्य आधारभूत सेवा समेत पाएका छैनन् । यहाँ हालसम्म पनि कुनै अस्पताल छैन । सामान्य स्वास्थ्य चौकीले सबै किसिमका बिमारी हेर्नुपर्ने अवस्था छ । अपरझट कुनै दुर्घटना परे ज्यान नै जोखिममा राखेर अन्यत्र पठाउनु पर्छ ।
सुस्ताको गौरबको आयोजना मानिएको अस्पतालको यो अवस्था हुनु समग्र सुस्तावासीको स्वास्थ्यमा गरिएको खेलबाड भएको स्थानीयको गुनासो छ ।
ठेकेदार कम्पनीले मुद्दा हालेपछि गाउँपालिकाले ठेकेदार धरौटी जफत गरेको थियो ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि एक गुठी सँग ४० वर्षका लागि भोग चलन गर्न पाउने गरी जगा सम्झौता गरेपनी पालिकाले आफ्नो नाममा भएको जगा उपलब्ध गराउन नसकेकाले पछि भुक्तानीमा समस्या हुने हुँदा काम नगरिएको ठेकेदार कम्पनीको दाबी छ । पालिकाकै नामको जग्गाको पुर्जा नभएकाले काम गर्न नसकेको निर्माण सेवाका सञ्चालक टोप बहादुर रायमाझीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्