तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको शीघ्र समायोजन गर्न संघीय सरकारसँग माग

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले प्रहरीको शीघ्र समायोजन गर्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको बैठकले प्रहरीको शीघ्र समायोजन, संघीय निजामती ऐन शीघ्र रुपमा ल्याउन, गुठीसम्बन्धी संघीय ऐनको निर्माण गरी जनकपुरधाम सहित प्रदेशमा रहेको गुठी जग्गाको व्यवस्थापन तथा वन व्यवस्थापन सहितको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

नेपाल सरकारको ध्यानाकर्षण गर्नका लागि मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ गएर विभिन्न मागहरू सहितको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रदान गर्ने निर्णय भएको सञ्चारमन्त्री समिमले जानकारी दिनुभयो ।

आफूहरूले १५ दिनको म्याद दिएर माग सहितको ज्ञापनपत्र दिने र सो अपधिमा कार्यान्वयन नभएको खण्डमा काठमाडौँमै गएर धर्ना दिने पक्षमा प्रदेश सरकार रहेको र यसमा सबै दलको साथ भएको कानूनमन्त्री समेत रहनुभएका मन्त्री समिमले जानकारी दिनुभयो ।

बैठकमा मधेश प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न दलका प्रमुख सचेतकहरू तथा नेताहरू सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button