तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा मजदुरी गरी घर फर्किरहेका दुई नेपाली हरिद्वारमा लुटिए

कञ्चनपुर । भारतमा मजदुरी गरी तिहारका लागि घर फर्किरहेका दुई जना नेपाली हरिद्वारमा लुटिएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ च गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ घर फर्किने क्रममा लुटिएका हुन् । 

भारतको लेह–लद्दाखमा मजदुरी गरी तिहार मनाउन घर फर्किने क्रममा हरिद्वारमा बसबाट झर्ने बित्तिकै सुर्खेत घर बताउने एक जना नेपालीले होटेलमा लगेर चिया बिस्कुट खान दिएको र चिया बिस्कुट खाएको केही बेरमै दुवै जना बेहोस भएको उनीहरूले बताएका छन् ।

भोलिपल्ट होसमा आउँदा आफूहरू हरिद्वारको बसपार्कमै रहेको तर साथमा रहेको झोला, मोबाइल र कमाएर ल्याएको रुपैयाँ सबै लुटिएको उनीहरूले जनाएका छन् । सुशान्तको खल्तीमा बचेको ६ सय भारुले टिकट काटेर उनीहरू बुधबार गड्डाचौकी नाकामा पुगेका छन् । 

सुशान्तको ४० हजार भारु सहित मोबाइल र लुगा कपडाको झोला तथा दिनेशको ५० हजार भारु सहित मोबाइल र लुगा कपडाको झोला लुटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button