तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको चारदिने औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज  शिष्टाचार भेटवार्ता भएको छ। 

राष्ट्रपति  कार्यालय शीतल निवासमा भएको भेटमा नेपालको विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिका, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपाली सेनाको योगदान, दिगो विकास लक्ष्यहरू हासिल गर्न नेपालको प्रतिबद्धता र जलवायु परिवर्तनबाट नेपाललाई पर्न गएका प्रतिकूल असर लगायतका विषयमा छलफल भएको थियो । 

राष्ट्रपति पौडेलले नेपाललाई राष्ट्रसंघले निरन्तर गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल र राष्ट्रसंघबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो  ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुग्नुभएको हो । उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो । 

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button