तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसद्वारा चियापानको आयोजना

काठमाडौँ । नेपाली काँग्रेसले दशैं तिहार तथा छठ पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव कुमार नेपाल तथा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ताहरू, मन्त्रिगण, सांसदहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न पेशाकर्मी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।

चियापानका अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा दलहरूको आलोचना हुनु स्वभाविक भएको र यसले दलहरूलाई सच्चिएर अगाडि बढ्न सहयोग पुर्‍याउने बताउनुभयो ।

सभापति देउवाले सञ्चारकर्मीको एक जिज्ञासामा अवसरको खोजीमा मात्र नभएर केही युवाहरू रहरले समेत विदेशिने गरेको बताउनुहुँदै केही समयपछि यसरी विदेसिनेहरू पुनः स्वदेश फर्कने विश्वास रहेको समेत बताउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो हुँदै गएको र उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भ्रमणहरूले तीव्रता पाउन थालेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण लगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानीले समेत नेपाल भ्रमण गर्ने तय भएको समेत जानकारी दिनुभयो ।

सञ्चारकर्मीको अर्को एक जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई जवाफ दिन सबै प्रमुख दलहरू एकै ठाउँमा उभिएर देशका राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका समस्याहरूको समाधान खोज्नुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरूको कार्यक्षमता प्रति प्रश्न उठेको नभई प्रश्न उठाउने प्रयास गरिएको बताउनुहुँदै यसको जवाफ यथा समयमा यथोचित ढंगले दिने बताउनुभयो ।

अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न प्रतिकूलता र आन्दोलनमा खारिएर आएका दलहरूको क्षमता र भूमिकामाथि हलुका टिप्पणी हुनु र प्रश्न उठाउनु दुखद भएको बताउनुहुँदै समय आएपछि यसको जवाफ दिने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबी, अशिक्षा, भ्रष्टाचार जस्ता राष्ट्रिय समस्याहरू राजनीतिक दलहरूका साझा मुद्दा भएकाले यसको समाधानका लागि दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसले बडा दशैं, दीपावली, छठ लगायतका प्रमुख चाडपर्वहरूको अवसर पारेर हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button