दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही
दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ ।
दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ ।
दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ ।
दमौलीबाट काठमाडौँसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको विष्टले बताउनुभयो । चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौँ जाने यात्रुहरूबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्