तपाईँ सुन्दै हुनुहुन्छः

कुमाल समुदायले बनाएका सेरामिक सामाग्री पालिकाले बजारीकरण गर्दै

दाङ। दाङको गढवा गाउँपालिकाले सेरामिकको हब बनाउन पहलसँगै सामाग्रीहरू लागि बजारीकरण गर्न सुरु गरेको छ ।

कुमाल समुदायले गर्दै आइरहेको पुर्खौली काम सेरामिक सामाग्रीहरूले बजार नपाइरहेको अवस्थामा पालिकाले संरक्षणका र प्रवर्द्धनका लागि बजारीकरण शुरु गरेको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । स्थानीय सरकारले नै बजारीकरण गर्न लागेपछि यति वेला उक्त पेसामा लाग्ने कुमाल समुदाय खुशि भएको छ ।

माटोको भाडा निर्माण गर्दै आए पनि बजारीकरणको समस्याले गर्दा डराई डराई सेरामिक सामाग्री बनाउने गरेको गढवा गाउँपालिका वडा नम्बर ३ खैराका रामलाल थारु कुमालले बताउनुभयो। गढवा गाउँपालिकाले बजारीकरणमा सहयोग गरेपछि आफूहरूले उत्पादन वृद्धि गर्ने कुमालको भनाइ छ ।

पाँच सय थान गमला र आठ सय थान खुद्रूके थोकदर रेटमा पालिकाको कृषि एम्बुलेन्सबाट बिक्री वितरण गर्न पाउँदा आफूहरूमा धेरै आशा पलाएको राज बहादुर थारु कुमालले बताउनुभयो।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको कृषि एम्बुलेन्स मार्फत गमला र खुद्रूके गरी करिब आठ सय सामाग्रीहरू बिक्री वितरण तुलसीपुर बजार पठाएको बताउनुभयो।

गढवा गाउँपालिकाले गाउँपालिका भित्र उत्पादन भएका सेरामिक सामाग्री, तरकारी, भेडा बाख्रा, दूध लगायतका सबै थोक बजारीकरणको लागि कृषि एम्बुलेन्स मार्फत सम्बन्धित बजार सम्म पुर्‍याउने र किसानको आर्थिक अवस्था सुधार गर्ने लक्षले अघि बढेको अध्यक्ष पोख्रेलले बताउनुभयो।

ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र गढवा गांउपालिकालाई सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका थारु कुमालहरू आफ्नो मुख्य पेशाको रुपमा माटाका भाँडा बनाउने काममा वर्षौंदेखि संलग्न रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button