रोक्का राखेको जग्गा फुकुवा गर्ने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकी राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताउनुभयो ।
प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथा अवस्थामा बिक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताउनुभयो ।
शुक्रवार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
स्थानीयको जनजीविका सहज गराऊ र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाई थियो ।
तीन वर्ष अघि राजधानी कार्यान्वयनका लागि भन्दै शङ्कर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा बिक्री वितरण र खण्डीकरणमा रोक लगाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्