अपराध अनुसन्धानमा नेपाल प्रहरीले विश्वस्तरमै महत्वपूर्ण काम गरेको छः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकले दुःखमा सम्झिँने र समस्याको समाधान गर्ने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुनू महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । आज ६८औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीका बीच अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा महत्वपूर्ण काम गरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आम नागरिकका हरेक सरोकार र समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर समस्याको सम्बोधन र समाधान गरेको भन्नुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावशाली सङ्गठनको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले प्रहरी सङ्गठनको क्षमता र दक्षतामा हुने अभिवृद्धिसँग सरकारको सफलता समेत समेटिने हुनाले प्रहरी सङ्गठनको समय सापेक्ष आधुनिकीकरणमा सरकार गम्भीर रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ आयामहरू विकसित हुँदा अपराध नियन्त्रण, अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको पूर्ण उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकारले विश्व शान्तिका निम्ति नेपाल प्रहरीलगायतका देशका सुरक्षा अङ्गहरूको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा आवश्यक कूटनीतिक पहल लिने समेत बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्