तपाईँ सुन्दै हुनुहुन्छः

वन मन्त्रीद्वारा विधेयकबाट गिट्टी, बालुवा निकासीको व्यवस्था हटाउन पहल गर्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग वन तथा वातावरण मन्त्री डा वीरेन्द्र महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रहेको निकासीसम्बन्धी व्यवस्था हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँग मन्त्री महतोको राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा पूर्व राष्ट्रपति डा. रामवरण यादवसहित चुरे, जैविक विविधता, वन एवम् कृषि विज्ञहरूको टोलीले केही दिनअघि हाल बन्द भएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी गर्ने प्रस्तावित विधेयक पारित गर्न नहुने सम्बन्धमा गराएको ध्यानाकर्षणबारे जानकारी गराएपछि उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षणका लागि महत्वपूर्ण पहल थाल्न र तराई, मधेसलाई जोगाउन मन्त्री महतोलाई सुझाव दिनुभएको थियो । उहाँले देशको अन्न भण्डार रहेको तराई, मधेसमा पानीको मुहान सुकेर चामल निर्यात गर्ने देशमा अरबौँको चामल आयात गर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै चुरे संरक्षणका लागि एउटा भरपर्दो र गम्भीर निर्णय लिन आवश्यक भएकोतर्फ पनि मन्त्री महतोमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसअघि पूर्व राष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवम् कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर उक्त विषयबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

मन्त्रिपरिषदको असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द भएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको राष्ट्रपति पौडेललाई डा. यादवले जानकारी दिनुभएको थियो ।

पूर्व राष्ट्रपति डा यादवले सो विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपति समक्ष आग्रह गर्न आउनुपरेको बताउनुभएको थियो ।

पूर्व राष्ट्रपति डा यादवसँग चुरे विज्ञ डा विजयकुमार सिंह दनुवार, वनस्पति विज्ञ डा तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ डा रामप्रसाद चौधरी, वन तथा चुरे विज्ञ डा विनोद भट्ट, डा नागेन्द्र यादव, कृषि विज्ञ डा कृष्ण पौडेल सहभागी हुनुहुन्थ्यो । जैविक विविधतासम्बन्धी ६ जना विज्ञहरूले बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउन लिखित आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button