बैजनाथ गाउँपालिकामा सञ्चालनमा आयो ‘बाल सुधार गृह’
बाँके । १८ वर्ष नाघेका युवालाई व्यवस्थित रूपले राख्न बाँकेको नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्रीय बाल न्याय समितिले विभिन्न सरोकारवालासँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।
उक्त सुधार गृहमा पहिलो चरणमा भैरहवास्थित बाल सुधार गृहबाट स्थानान्तरण गरेर ल्याइएका १३ जना युवालाई राखिएको बाल सुधार गृह नौवस्ताका कार्यालय प्रमुख सविता रावतले जानकारी दिनुभएको छ । उहाँले ‘पर्सा र हेटौडाबाट पनि ३३ जना युवालाई स्थानान्तरण गरेर ल्याइने क्रमशः अन्य बाल सुधार गृहबाट पनि युवालाई स्थानान्तरण गरेर ल्याउने तयारी रहेको बताउनु भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित क्षेत्रीय कारागारको एउटा ब्लकमा १८ वर्ष नाघेर एक तह मुद्दा टुङ्गिएका युवालाई उक्त गृहमा राखिएको प्रमुख रावतले बताउनुभयो।
उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधार गृहबाट पनि ७२ जना १८ वर्षमाथिका युवालाई नौवस्ता स्थानान्तरण गर्ने योजना रहेको छ ।
नौवस्ता बाल सुधार गृहको क्षमता अहिले २ सय ६४ जना रहेको छ । सरकारले बाल सुधार गृह सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी खटाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा देशभरका सुधार गृहमा रहेका १८ देखी २० वर्ष उमेरसम्मका युवालाई राखिने बताउनुभयो।‘बाल सुधार गृह सञ्चालनमा आएसँगै १८ देखी २० वर्ष उमेरसम्मका युवालाई नौवस्तामा ल्याएर राख्न सुरु गरिएको छ, यसको क्षमता धेरै भएकाले देशभरबाट पनि ल्याएर राख्न सकिने बताउनुभयो ।
बैजनाथ-३ का वडाअध्यक्ष निखिल बैगारले बाल सुधार गृह सञ्चालनमा आएसँगै चहल पहल बढेको बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्