तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का 

सुर्खेत I उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । 

उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उहाँले बताउनु भयो । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिमा विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिनुभयो । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

 उहाँले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०-१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउनु भयो ।

वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उहाँले प्रादेशिक ओैधाेगिक ग्रामकाे कामपनि चाँडै सुरु हुने जानकारी पनि दिनुभयो । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठुलो विमानस्थलका लागि अहिले देखिनै पहल गर्नुपर्ने आवश्यकता ओैल्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button