समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका छ : मन्त्री महतो
चितवन । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ ।
माडीमा आजदेखि सुरु भएको घरबास (होमस्टे) महासङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति संरक्षण र समृद्धिका लागि होमस्टेले ठूलो सहयोग गरेको बताउनुभयो ।
होमस्टेले आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने गरेको उहाँको भनाइ थियो । यस्ता होमस्टेलाई फराकिलो रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । विश्वका कतिपय देश धनी भएर पनि संस्कृति र सभ्यताको कमीका कारण पछि परेको भन्दै उहाँले संस्कार र संस्कृतिको संरक्षणमा राज्यले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, होमस्टे महासङ्घ बागमती प्रदेशका सल्लाहकार श्री प्रसाद दवाडी, महासङ्घका अध्यक्ष प्रेमशङ्कर मर्दनिया, महासचिव कृष्ण चौधरी लगायतले होमस्टे सिटीका रुपमा माडीलाई विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
महाधिवेशनमा हिमाल, पहाड र तराई–मधेसका एक हजार पाँच सय गाउँबाट सात हजार होमस्टेका करिब पाँच सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी भएका छन् । नेपालको ६८ जिल्लामा होमस्टे रहेका छन् । महाधिवेशनको बन्द सत्र माडी नगरपालिका वडा नं ९ मा रहेको दुरा सामुदायिक होमस्टेमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्