तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् विधेयक २०८० लाई समितिमा पठाउन स्वीकृति

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विद्युत् विधेयक २०८० लाई दफावर छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाँई मन्त्री शक्तिबहादुर बस्नेतले पेश गर्नुभएको विद्युत् विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने सांसदहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वका बेला उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले चाडपर्व मनाउन गाउँ फर्कने यात्रुलाई सहज रुपमा टिकट उपलब्ध हुने व्यवस्था मिलाउन तथा सडक मर्मत गरी यात्रालाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने, हवाई तथा बसको भाडादर नियन्त्रण गर्नुपर्ने तथा अनुगमन र निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै सांसदहरुले चाडपर्वका समयमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय सरकार तथा यातायात व्यवसायीहरूलाई जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले सिक्किमको टिस्टा नदीमा आएको बाढीमा हराइरहेका नेपालीहरूको खोजी तथा उद्धारमा ध्यान दिन, डेंगु सङ्क्रमण नियन्त्रणका लागि ध्यान दिन, तथा स्वास्थ्यकर्मी, विद्यालय शिक्षक एवं स्थानीय तहका कर्मचारीहरूले उठाएका जायज मागहरू समयमै सम्बोधन गरी सेवा प्रवाह प्रभावित हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १२ गते आइतबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button