तपाईँ सुन्दै हुनुहुन्छः

बाराका ५ बालिकालाई भारत लैजाने क्रममा वीरगंजबाट उद्धार

वीरगंज । बाराका पाँच जना बालिकाहरूलाई भारत लैजान लागिएको अवस्थामा प्रहरीले वीरगंजबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । 

बाराको करैयामाई गाउँपालिका वडा नम्बर–१ बाट सोमबार एकाएक सम्पर्क विहीन भएका बालिकाहरूलाई वीरगन्जबाट फेला पारी बिहीबार परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । 

गाउँबाट १३ वर्षीय बालीका १ जना, १४ वर्षीय बालीका २ जना र १६ वर्षीय बालीका २ जना गरी ५ बालिका एकैसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । 

एकै पटक पाँच÷पाँच जना बालिका हराएको सूचना पाउन साथ खोज तलास गर्न प्रहरी परिचालन गरिएको अवस्थामा प्रहरीले बीरगंज नाका हुँदै भारतको रक्सौलतर्फ जाने क्रममा वीरगन्जको आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट फेला पारी उद्धार गरेको बाराका प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । 

बालिकाहरूलाई भारत लैजान लागेका भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुरका १८ वर्षीय कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

पक्राउ परेका युवकसँग बालिकाहरूलाई भारतको कुन स्थानमा कसको योजनामा लैजान लागेको भन्नेबारे सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको  न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button