नवदुर्गाको मूर्ति बनाउन बाँकेका मूर्तिकारलाई भ्याई नभ्याई

बाँके । नेपालीहरूको महान् पर्व दशै नजिकिँदै गर्दा नेपालगञ्जका मूर्तिकारहरूलाई नवदुर्गाको मूर्तिहरू बनाउन भ्याई नभ्याई छ ।
हिन्दु धर्मावलम्वीहरुले वडा दशैँको अवसरमा गाउँमा टोलटोलमा र बजार क्षेत्रका चोकचोकमा नव दुर्गाको मूर्ति राखेर पूजाआजा गर्ने चलन रहेको छ । वडा दशैंको घटस्थापना नजिकिँदै गर्दा मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको हो ।
हिन्दु धर्ममा आस्था राख्ने जोकोहीले विषेशगरी वडा दशैमा घर वा आँगनमा नव दुर्गाको मूर्ति राखेर पूजाआजा गर्ने परम्परागत चलन रही आएको छ । यसका साथै तराइका जिल्ला हरुमा चोकहरूमा समेत दुर्गाको मूर्ति राखेर पूजाआजा गर्ने चलन रहेको छ । बाँकेको नेपालगन्जमा चोकहरूमा पनि मूर्तिहरूको स्थापना गरिन्छ ।

माग बढे अनुसार मूर्तिकारहरू नेपालगञ्जमा नरहेको मूर्तिकारहरू बताउँछन् । बाँकेमा मात्र करिब ५ सय दुर्गाको मूर्तिहरू राख्ने गरिन्छ तर मूर्तिकारहरूको सङ्ख्या कम भएकै कारण माग पूर्ति गर्न गाह्रो भएको मूर्तिकार छोटु केवटको भनाई छ । देवीको मूर्तिको माग अनुसार नेपाली मूर्तिकारहरूले बनाउन नभ्याउँदा सर्वसाधारणहरू भारतको रुपैडिहा बजारबाट मूर्ति किन्न बाध्य भएका छन् ।
कालिगढहरुले ग्राहकहरूको इच्छा अनुसार साना देखि ठूला सम्मका मूर्ति बनाउने गर्दछन् । एउटा मूर्ति बनाउन १० देखि १५ दिन लाग्ने गरेको मूर्तिकारहरूको पिन्टु गोडियाको भनाई छ ।
अहिलेको मौसमले पनि मूर्तिकारहरूलाई समस्या भएको छ । घाम नलागेकोले मूर्ति सुक्न समय लाग्ने गरेको छ । दशैंमा राखिने मूर्तिहरू बनाउन मूर्तिकारहरू वैशाख महिनाबाट नै मूर्तिहरू बनाउन शुरु गर्छन् ।
घटस्थापनादेखि नवनिर्मित दुर्गाको मूर्तिहरू स्थापना गर्ने क्रममा व्यान्डबाजा सहित पूजा अर्चना गरी दुर्गा मूर्तिहरू स्थापना गरिन्छ । यसरी घटस्थापनामा राखिएको मूर्तिहरू दशैंको टिकाको दिनमा बाँके राप्ती बाँके बर्दियाको सिमाना मानखोला नदीमा लगेर सेलाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्