नेपालगन्जमा सात पसल जलेर नष्ट हुँदा एक करोड क्षति
नेपालगन्ज। नेपालगन्जको बिपी चोकमा रहेका फर्निचर पसलहरूमा भएको आगलागीबाट एक करोड क्षति भएको छ । आगलागीबाट सात वटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे चार बजेतिर बिपी चोकस्थित आलिया फर्निचर उद्योगबाट सुरु भएको आगलागीबाट वरिपरिका अन्य ६ वटा पसल पनि जलेर नष्ट हुँदा एक करोड बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले आगलागी फैलिँदै जाँदा लहरै रहेका वारसी काठ फर्निचर, शानिया स्टिल फर्निचर, लक्ष्मी स्टिल फर्निचर, गिलमान फर्निचर उद्योग, चिन्टु किराना पसल र मिठ्ठु मोटरसाइकल ग्यारेज जलेर नष्ट हुँदा एक करोड तीन लाखको क्षति भएको प्रारम्भिक जानकारी आएको बताउनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, प्रहरीको दमकल, कोहलपुर नगरपालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको सक्रियतामा दुई घण्टामा आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्