तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ’

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले व्यापक सुधारको थालनी गरेको बताउनुभएको छ ।

मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव एवं हिरक जयन्तीका अवसरमा आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय छन्, त्यस्ता विषयलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।”

उहाँले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अब नआउने बताउँदै गरिब, असहाय, अपाङ्ग लगायतका नागरिकको निःशुल्क उपचारको व्यवस्था हुने बताउनुभयो ।

मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रविधियुक्त बनाउने र सहज रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरी सेवा विस्तार लगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभाका सांसद दुर्लभ थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्दै सहजता प्रदान गर्न सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराएको, निःशुल्क स्वास्थ्य बिमालाई व्यवस्थापन गर्दै आएको, आगामी चार वर्षमा थिमिका सबै नागरिकमा निःशुल्क स्वास्थ्य बीमाको पहुँच पुर्‍याउने बताउँदै नेपाल कोरिया नर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनाउन लागिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गणेशमान चक्रधरले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा स्थापनाकालमा उक्त विद्यालयमा अध्ययन गर्नुभएको र हाल आदर्श मावि लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घो र हरिहरमान थापा श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्र पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button