तपाईँ सुन्दै हुनुहुन्छः

सरकार इजरायलबाट फर्किन चाहने नेपालीलाई फर्काउन लागिरहेको छ : परराष्ट्र मन्त्रालय

इजरायलबाट हालसम्म दुई सय ८८ जना नेपाल फर्कन चाहेका विवरण प्राप्त

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका ३ सय ५० भन्दा बढी नेपाली नागरिकले हाल सम्म परराष्ट्र मन्त्रालयले जारी गरेको अनलाइन प्रणालीमा आफ्नो विवरण उपलब्ध गराएका छन् । 

यसरी विवरण उपलब्ध गराएका मध्ये २ सय ८८ जनाले नेपाल फर्कन चाहेको विवरणमा उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले ४ हजार ५ सय बढी नेपाली नागरिक इजरायलमा रहेको र उनीहरूको विवरण सङ्कलन गरी नेपाल फर्किन चाहनेलाई फर्कने प्रबन्ध मिलाउन नेपाल सरकार लागि रहेको बताउनुभयो । 

इजरायलमा २ सय ६५ जना विद्यार्थी रहेकोमा द्वन्द्वग्रस्त दक्षिणी इजरायल क्षेत्रमा रहेका १७ जना विद्यार्थी मध्ये १० जनाको घटनामा परी मृत्यु भएको, विपिन जोशी भन्ने एक जना हाल सम्म सम्पर्कमा नरहेको,  २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको थप दुई जना आजैमात्र अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । 

यस्तै त्यस क्षेत्रबाट बाँकी २ जना विद्यार्थीलाई पहिले नै सुरक्षित स्थान तर्फ सारिसकिएको र सम्पर्कमा नरहेका विपिन जोशीको खोजीकार्य  जारी  रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयले इजरायलबाट फर्किन चाहने नेपाली नागरिकहरूलाई फर्काउन इजरायल सरकारसँगको समन्वयमा नेपाल सरकारले सम्पूर्ण सामर्थ्य र संयन्त्रको प्रयोग गरी काम गरिरहेको र फर्किन चाहनेलाई नेपाल एयरलाइन्सको चार्टड उडान तथा त्यहाँबाट हुने अन्य व्यावसायिक उडानबाट फर्काइने जनाएको छ ।

तस्बिर : मुकुन्द कालिकाेटे

प्रतिक्रिया राख्नुहोस्

Back to top button