तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटामा जङ्गली हात्तीको बथानले उखु बालीमा क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा जङ्गली हात्तीको बथानले उखु बालीमा क्षति पुर्याएको छ । बैङ्कबाट ऋण निकालेर लगाएको उखुबारी जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैङ्कबाट रु १० लाख ऋण निकालेर उनले उखु खेती गरेका थिए ।

ऋण लिएर सुरुवात गरेको खेती पनि जङ्गली हात्तीले नोक्सान गर्न थालेपछि लाखौँ घाटा व्यहोर्नुपरेको रानाको गुनासो छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखु खेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ ।

रातिका बेला उखुबारीमा हात्तीको बथान पसेको छिमेकीले फोन गरेर जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनी बताउँछन् । घर नजिकै उखुबारी भएकाले तीन वटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button