धनुषामा विशेष सुरक्षा व्यवस्था
जनकपुरधाम । दशैं, दीपावली तथा छठ पर्वलाई दृष्टिगत गरेर जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा विशेष सुरक्षा रणनीति बनाएर सोही अनुसारको सुरक्षा व्यवस्था गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजित पत्रकार भेटघाटमा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था गरिएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
जिल्लामा शान्ति सुरक्षाको प्रभावकारिताका लागि ७ वटा क्यू आर टि टिम गठन गरिएको छ । घटना भएको कुनै पनि ठाउँमा ती टिमका सुरक्षाकर्मीहरू पाँच मिनटमा पुग्ने उहाँले दाबी गर्नुभयो । यसमा ७५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसका साथै अधिक भिडभाड हुने ठाउँमा सदा पोशाकका सुरक्षाकर्मी पनि परिचालित छन् । यसैगरी जनकपुर नगर क्षेत्रमा मात्र ९ वटा सुरक्षा मोबाइल गस्ती परिचालन गरिएको छ ।
दशैको समयमा आर्थिक कारोबार हुने बैङ्क, वित्तीय संस्था, सुनचाँदी पसल विशेष सुरक्षा निगरानीमा रहेका छन् भने चाडपर्वको मौका छोपी कालो बजारी गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समिति सक्रिय रहेको पनि प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्