तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग धन्दा धाराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्त: अध्यक्ष नेपाल

लुम्बिनी I नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ । 

सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, बिचौलिया र भ्रष्टहरूको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्नुभयो । उहाँले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गर्नुभयो । 

उहाँले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले बैङ्कहरूले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक सङ्कट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसोराकारको मुद्दालाई लिएर मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभयो । 

सो अवसरमा उद्योगी व्यवसायीले बैङ्कको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, कच्चापदार्थको अभाव जस्ता समस्या भोगेको भन्दै आफूहरू विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button