तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलबाट फर्केर नयाँ घर बनाउने सपना देखेका प्रवेश उतै अस्ताए

सल्यान I बुवा, आमा अब तपाईँले धेरै दुख गर्नु पर्दैन है? अब तपाईँको छोरा कमाउने भइसक्यो चिन्ता नगर्नुस्, दिदी पनि टाढा छ म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु ।

तपाईँहरू ढुक्क भएर बस्नुस् है ? भन्दै गएको भदौ २० गते सल्यान शारदा नगरपालिका ३ साहुटोल सिरवारका प्रवेश भण्डारी इजरायलको यात्रा तय गरेका थिए । ‘बुढेसकालको सहारा एक्लो छोरा थिए प्रवेश । उनी सहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्काय सकेर काम सिक्न इजरायल पुगेका हुन । 

इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेका प्रवेशले आमा बुवालाई आफ्नो चिन्ता नगर्न आग्रह गर्ने गदथ्र्ये । गएको शुक्रवार मात्र बुवासँग प्रवेशले सन्चै छु है बुवा मेरा चिन्ता नगर्नुस् अव म भोली शनिवार कुरा गर्छु भन्दै फोन राखे । 

शनिवार प्रवेशसँग कुराकानी गर्ने प्रतीक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन् । शुक्रवार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो । छोरालाई पटक पटक अनलाइनमा खोजे तर देखेनन् ।

‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिवार आमाबुवासँग बोल्छु, बोलाइ दिनुहोला भनेर एसएमएस छोडेको थियो ’ प्रवेशकी सानिमा शोभा सेजवालले भन्नु भयो ‘त्यसपछि अनलाइन नै देखिनँ । आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको खबर सुनेपछि उहाँ डराइन । प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे। तर कसैले जवाफ दिएनन्  । 

 प्रवेशका ४५ वर्षीय बुवा चक्र बहादुर भण्डारीले शनिवार बिहानै इजरायलमा हमला खबर सुन्नु भयो । १९ गते शुक्रवारबाट छोराको खबर नपाएका उहाँ आत्तिनु भयो । रेडियोबाट मात्र आक्रमण भइरहेको खबर सुनिरहनु भयो तर पनि छोराको खबर पाउन सक्नु भएन । छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिनु भयो ‘छोराको अवस्था कस्तो छ ? जिउँदो छ कि के छ ? थाहा हुन सकेन । बुवाले भन्नु भयो आइतबार दिउँसो नेपाली विद्यार्थी पनि हमालमा परेको भन्ने खबर रेडियो र फेसबुक मार्फत थाहा पाए, तर छोरा कतै भागेर बाचेको छ कि भन्ने आस लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाए । 

छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भावविहल अवस्थामा छ भने गाउँ शोकमा डुबेको छ । प्रवेशकी ४६ वर्षीय आमा र दिदी बेहोस अवस्थामा छन् । छोराको सास त आएन तर लास ल्याउनको लागि नेपाल सरकार सँग परिवारले आग्रह गरेको छ । मेरो छोरा त अव रहेन, तर छोराको लास छिटो भन्दा छिटो नेपाल ल्याउनका लागि सरकारले पहल गरोस् प्रवेशका बुवा चक्रले बेहोस अवस्थामा भन्नु भयो ।  

सल्यानका प्रवेश सहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजवाल रहेका छन् । उहाँको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button